नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

पशु सेवा विभाग

भेडा आनुवाँशिक स्रोत केन्द्र

पानसयखोला, नुवाकोट

ऐतिहासिक पृष्ठभूमि

पानसयखोला भेडा बिकास फार्म स्थापना हुनुभन्दा पहिले यस स्थानमा राणाकालिन सरकारी गाई गोठ थियो । जसलाई यस भेगका बासिन्दाले "राजाको गोठ" भन्ने गर्दथे ।त्यहाँ पालिएका गाईबाट उत्पादित दहि ,महि, घ्यू आदि काठमाण्डौ दरबारमा पुर्याईन्थ्यो । आ. ब. २०२४।०२५ मा तत्कालिन श्री ५ को सरकार, कृषि मन्त्रालयले गाईगोठ हटाई स्थानिय बरुवाल भेडाको बंश सुधार गर्नुका साथै मासु र उन उत्पादनमा बृद्धि ल्याउने उद्देश्यले भेडा फार्म स्थापना गरेको थियो । त्यति बेला देखि नै राम्रो उन उत्पादन गर्ने बिदेशी भेडासँग प्रजनन् गराई बर्णशंकर पाठापाठी उत्पादन गर्ने लक्ष राखि अनुसन्धान समेत शुरु गरेको पाईन्छ ।त्यहि शिलशिलामा आ ब २०२७।०२८ देखि अष्ट्रेलियन पोलवर्थ र स्थानिय बरुवाल भेडामा प्रजनन् गराई ५० प्रतिशत क्रश भेडा उत्पादन तथा यस सम्बन्धि बिभिन्न अध्ययन परिक्षण कार्य शुरु भयो ।

२०३० साल जेठ २६ गते पूर्ब राजा बिरेन्द्रबाट अबलोकन भ्रमण भएर फार्मलाई अझ बिस्तार गर्न निर्देशन भएपछि कार्यक्रममा सकृयता बढ्दै गएको पाईन्छ ।आ ब २०३०।०३१ साल देखि यस फार्ममा उत्पादित उन्नत जातका थुमाहरु प्रजनन् कार्यका लागि स्थानिय कृषकहरुका साथै अधिराज्यका बिभिन्न जिल्लाहरुमा बितरण गर्न थालियो । २०३५।०३६ मा बिश्व बैकको ऋण सहयोगमा रसुवा नुवाकोट एकिकृत ग्रामीण बिकास परियोजना लागू भएपछि यस फार्मको भौतिक सुधारका साथै भेडाको बंश सुधार अध्ययन अनुसन्धान उत्पादन तथा बितरण कार्यमा महत्वपूर्ण सहयोग पुगेको पाईन्छ ।सोहि परियोजना मार्फत २०३६।०३७ सालमा फ्रान्सबाट १० वटा मेरिनो जातका भेडाहरु ल्याउने काम भयो । भेडामा थप बंश सुधार गर्ने उद्देश्यले आ ब २०४९।०५० मा रोम्नीमार्स र बोर्डरल्यासिस्टर थुमा १।१ गोटा ल्याउने काम भयो ।त्यसैगरि आ ब २०७०।०७१ मा न्यूजिल्याण्डबाट मेरिनो र कुपवर्थ जातका केहि भेडाहरु ल्याईएको थियो । तर बिभिन्न कारणले ती भेडाहरुको बृद्धि बिकास हुन सकेन । यद्यपी यस श्रोतकेन्द्रमा बरुवाल तथा पोलवर्थ क्रस भेडाहरु रहेका छन् । यस श्रोतकेन्द्र बिशेषत भेडापालनको लागि मात्र भएपनि स्थानिय कृषकहरुको मागलाई मध्यनजर गर्दै यस भेगका गाईभैसीमा प्राकृतिक प्रजनन् सेवाको लागि मुर्राक्रस राँगो र जर्सी साँढे पनि राखिएको छ ।

  • आ.ब. २०२४।०२५  : फार्म स्थापना भएको (२०२५।०१।१९)
  • आ.ब. २०२७।०२८  : अष्ट्रेलियन पोलवर्थ भेडा र स्थानीय बरुवाल भेडामा क्रस प्रजनन् गराई यस सम्बन्धी विभिन्न अध्ययन परीक्षण शुरुवात
  • आ.ब.२०३०।०२।२६  : पूर्व राजा श्री ५ वीरेन्द्रबाट यस फार्मको अवलोकन भ्रमण भएर महत्वपूर्ण निर्देशन झएकोले कार्यक्रममा सत्रियता बढ्दै गएको पाइन्छ ।
  • आ.ब. २०३०।०३१  : प्रजनन् कार्यको लागि स्थानीय कृषक तथा अधिराज्यका विभिन्न जिल्लाहरुमा भेडाका थुमाहरु वितरण गर्न थालिएको ।
  • आ.ब. २०३५।०३६  : रसुवा–नुवाकोट एकीकृत ग्रामीण विकास परियोजनाको शुरुवात
  • २०३६ साल फाल्गुण  : फ्रान्सबाट ८ गोटा पाठी र २ गोटा पाठा गरी १० गोटा फ्रेन्चमेरिनो डार्ले जातका भेडाका ४ महिने पाठापाठी फार्मको लागि प्राप्त ।
  • आ.ब. २०४९।०५०  : विदेशी भेडाका उन्नत जातका रोम्वीमार्स थुमा–१ गोटा र ब्रोडरल्यासीस्टर थुमा–१ गोटा फार्ममा ल्याइएको ।
  • २०५६ साल जेष्ठ  : फार्ममा विद्युत वायरिङ्ग गर्ने कार्य सम्पन्न ।
  • २०५७।०३।०६  : फार्ममा विजुली बत्ती बाल्ने काममा शुरुवात गरिएको ।
  • २०६०।०६।१९  : यस फार्मको सम्पूर्ण संरचना द्वन्दको चपेटामा परि ध्वस्त भएको ।
  • २०६२ माघदेखि  : फार्म पुनस्थापनाको लागि पुनः शुरुवात भएको ।
  • २०६५।०६६ मा  : भौतिक संरचना बनाउन शुरु गरिएको ।
  • २०७२ बैशाख १२ र २९ गतेको भुकम्पबाट भौतिक संरचनाहरु ध्वस्त भएको ।
  • आ.व. २०७५।७६ मा यस फार्मको नाम परिवर्तन गरि भेडा आनुवांशिक स्रोत केन्द्र राखिएको ।